काकाबाटै भतिजी बलात्कृत

रिपोर्ट नेपाल | 2019 Sep 11 | 02:51 pm 41

बागलुङ, भदौं  २५ : बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

‘परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पुर्‍याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छौ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौं’, भट्टले भने, ‘आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नु हुँदैन ।’ आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.