कांग्रेस रूपान्तरणका लागि पौडेलको १० सूत्र

रिपोर्ट नेपाल | 2021 Nov 29 | 07:59 am 209

काठमाडौं, मंसिर १३ः आसन्न महाधिवेशनबाट नेतृत्व लिने रणनीतिमा लागेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र अघि सारेका छन् । कांग्रेस रूपान्तरणका लागि नेतृत्व मात्र परिवर्तन गरेर नहुने भन्दै उनले आफूले अघि सारेको १० सूत्रलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको पनि बताएका छन् ।

‘वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याउँदै समावेशी नेपाल साकार पारौं’ भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पार्नुपर्नेमा जोड दिएका छन् । विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गर्नुपर्ने भन्दै उनले राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने र राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गर्नुपर्ने बताएका छन् । नेता पौडेलले अघि सारेका १० सूत्रमध्ये पाँचौं सूत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘ र्याडिकल सेन्टर’ को बाटोमा हिँडाउने उल्लेख गरेका छन् । त्यस्तै, छैटौं सूत्रमा भनिएको छ– ‘निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन ।

’उनले स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्ने बताएका छन् । मानिसलाई विशुद्ध मानिसका रूपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद रहेको भन्दै उनले भनेका छन्– ‘स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक् छ, लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौं अनि प्रतिस्पर्धा गरौं । राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।’विधिको शासन, समयवद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो भन्दै पौडेलले कांग्रेस रूपान्तरणको सातौं सूत्रमा सैद्धिान्तिक स्पष्टता र ऊर्जाशील प्रस्तुति तन्नेरी कांगेसको निश्छल चरित्र हुनुपर्छ भनेका छन् । कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन भन्दै उनले ००७ सालदेखि समान्तविरोधी एजेन्डा बोकेको कांग्रेस, जसले २०१५ सालमा दुईतिहाइ जनसमर्थन प्राप्त गर्यो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांग्रेसलाई उजिल्याउन अथक प्रयास गर्नुपर्ने बताएका छन् ।

सबै जनतालाई खान लाउन पुग्ने कृषिक्रान्ति र पर्यटनको विस्तार गर्नुपर्ने धारणा अघि सार्दै वरिष्ठ नेता पौडेलले देशलाई समृद्ध पार्न ऊर्जाक्रान्ति र आफ्नै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गर्नुपर्ने उल्लेख गरेका छन् । नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाउने बुँदालाई नवौं सूत्रमा समेटेको पौडेललको दशौ सूत्रमा भनेका छन्– ‘कम्युनिस्टले छरेका भ्रम र झूटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.