कांग्रेसले भन्यो -‘आवश्यकता अनुरूप तालमेल’

| 2022 Mar 30 | 08:50 am 201

काठमाडौँ चैत १६: सत्तारुढ दल कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन दलसँग तालमेल गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको चार दिन चलेको बैठकले बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको निष्कर्ष निकालेको हो।

‘यद्यपि, यो अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय पार्टीले गरेको छ’, बैठकले गरेको निर्णयबारे जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले भने। संयमित र समन्वयकारी राजनीतिक व्यवहार अबको चुनावमा कांग्रेसले गर्नुपर्ने नेताले बताएका छन्। कांग्रेसले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण पनि आगामी चुनावमा जित्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको निष्कर्ष बैठकले निकालेको प्रवक्ता डा. महतको भनाइ छ।

संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षले भने चुनावी गठबन्धन पार्टीको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर मात्र सम्भव हुने बताउँदै आएको छ। यही बेला आवश्यकताका आधारमा तालमेल गर्ने भनेर ‘व्याख्यात्मक टिप्पणी’ समेटेर कांग्रेसले गठबन्धनकै लाइन तय गरेको हो।

डा. कोइरालाले सोमबारको बैठकमा ‘किन र केका लागि गठबन्धन गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नुहुन्छ ?’ भन्दै देउवालाई प्रश्न गरेका थिए। डा. कोइरालाले भनेका थिए, ‘कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?’

महामन्त्री गगनकुमार थापाले ३६ लाख नयाँ मतदातालाई कम्युनस्टिका ‘हँसिया हथौंडा’मा भोट हाल भनेर कांग्रेस कसरी बन्छ भन्दै सभापतिलाई प्रश्न गरेका थिए। महामन्त्री थापाको प्रश्न थियो, ‘कांग्रेसको आन्तरिक एकता मजबुत मात्र हुँदा अरूसँग लड्न हामीलाई कठिन छैन। देशभर एक्लै चुनाव लड्दा व्यवस्थापन गर्न नसकिने नेता कार्यकर्ता गठबन्धनका नाममा उम्मेदवार नै बन्न नपाए कसरी पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन हुन्छ ?’

मंगलबारसम्म आइपुग्दा आवश्यकताका र अवस्थाका आधारमा तालमेल गर्न डा. कोइराला समूह सहमति भएको हो। ‘स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय भयो। यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ’, नेता अर्जुननरसिंह केसीले भने। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बनाएको छ। यस्तै, प्रवक्ता डा. महतको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति गठनको बैठकले गरेको छ। यसअघि यो पार्टीले महामन्त्री थापालाई घोषणापत्र तयारी समिति संयोजक बनाएको थियो। बैठकले संसदीय बोर्ड गठन गर्ने भनिए पनि नेताहरूबीच कुरा नमिल्दा निर्णय हुन नसकेको प्रवक्ता डा. महतले बताए।

बैठकले पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको छ। संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्वले पनि कांग्रेस जनतामाझ दर्बिलो भएर जान सक्ने कांग्रेसको विश्वास छ। कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं कांग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भूमिकाले गर्दा जनताको मन र मत दुवै जित्न सकिने आधार कांग्रेसले तय गरेको बैठकमा सहभागीको निष्कर्ष छ।

वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भूमिका, संयमित र स्थानीय तहमा निर्वाह गरेको प्रभावकारी भूमिकाका कारण पनि कांग्रेस आसन्न निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भएको निचोड बैठकले निकालेको छ। पार्टीले सञ्चालन गरेको स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले नेपाली कांग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजबुत बनाउँदै लगेको हुनाले यो अभियान चुनावसम्मै जारी राख्ने प्रवक्ता डा. महतले बताए। स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरूप कार्य अघि बढाइने उपसभापति खड्काले बताए।

चुनाव निकट आएकाले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ६९ बमोजिम प्रदेश सभाका सदस्य एवं प्रदेश मन्त्रिपरिषद्का सदस्यले पाउने मासिक पारिश्रमिकको २० प्रतिशत रकम चैतभित्र पठाउन प्रदेशसभा सदस्य र मन्त्रीलाई पार्टीले निर्देशन दिएको छ। चौधौं महाधिवेशनमा प्रदेश कार्यसमितिको क्षेत्रभित्र कायम रहेका नयाँ क्रियाशील सदस्य र नवीकरण गरेका क्रियाशील सदस्यको संख्याबमोजिम हुने नयाँ सदस्यता शुल्क र नवीकरण शुल्कबापतको रकम सम्बन्धित प्रदेश कार्यसमितिलाई केन्द्रबाट पठाउने निर्णय पनि कांग्रेसले गरेको छ। आजको अन्नपुर्ण पोस्ट बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.