कांग्रेसको बैठकमा ओली बिरुद्ध आवाज

| 2021 Mar 05 | 06:39 pm 309

काठमाडौं फागुन २१: नेपाली कांग्रेसका अधिकांश सांसदले असंबैधानिक कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न नहुने पक्षमा सभापति देउवालाई सुझाब दिएका छन।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सुक्रबार जारी संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले अबको सरकार गठनमा ओलीसँग मिल्न नहुने धारणा राख्दै ओलीले संविधान मिचेर संसद्को हत्या गर्न खोजेकाले उनीसँग सहकार्य गर्न नहुने तर्क अघि सारेका छन ।

आजको बैठकमा २८ जना सांसदले बोल्ने क्रममा सांसद भीमसेनदास प्रधान, राजन केसी लगायतका सांसदले ओलीको पक्षमा उभिन नहुने आफ्नो धारणा राखेका छन।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेका थिए। तर, सर्वोच्च अदालतले फागुन ११ गते सरकारको निर्णयलाई उल्टाइदिएको थियो। सर्वोच्चको फैसलापछि सरकारले आइतबार प्रतिनिधिसभाको बैठक डाकेको छ।

प्रतिनिधिसभाको बैठकअघि रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो। बैठकको सुरुमा सभापति शेरबहादुर देउवाले सांसदहरुलाई आ–आफ्नो धारणा राख्न फोरम खुला राखेका थिए।

फोरम खुला राख्दै सभापति देउवाले नेकपा फुटिनसकेकाले यो पक्ष वा त्यो पक्ष नभनीकन आआफ्नो धारणा राख्न निर्देशन दिएको सांसद मीन विश्वकर्माले जानकारी दिए।

‘नेकपा अहिले कानूनीरुपमा फुटेको छैन, यस्तो बेला प्रतिनिधिसभामा हामी कसरी बढ्ने? साथीहरुले धारणा राख्नुहोला देउवाले भनेका थिए, ‘अहिले नै यो पक्ष वा त्यो पक्ष भनेर नलागौं। कांग्रेको भूमिका कस्तो हुने भन्ने बारेमा धारणा राख्नुस्।’

प्रतिनिधिसभा पुनः स्थापनापछि सरकारमा जाने वा नजाने बारे कांग्रेसमा मतान्तर छ। नेकपाको दाहाल–नेपाल समुहले कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव राखे पनि कांग्रेस निर्णयमा पुगिसकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.