काँग्रेसको कार्यक्रममा प्रचण्डले भने- ‘हेर्दै जाउँ पछिल्लो दिनमा राजनीतिले कसरी कोल्टे फेर्छ ?’

रिपोर्ट नेपाल | 2019 Oct 13 | 05:07 pm 65

काठमाडौं, २६ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाहाल ‘प्रचण्ड’ राजनीतिमा असम्भव भन्ने केही पनि नरहेको बताएका छन् ।

‘राजनीति यस्तै नै हो । असम्भव देखिने कुराहरु पनि राजनीतिक पार्टीहरु मिलेर सम्भव बनाउन सकिन्छ,’ नेपाली काँग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले भने ।

प्रचण्डले कांग्रेससँग पहिले पनि सहकार्य भएको र फेरि पनि सहकार्य हुन सक्ने बताए । उनले भने, ‘यहाँ आएर काँग्रेस नेताहरु भेट्दा सहयात्रीहरुकै बीचमा आएको महसुस भएको छ । हेर्दै जाउँ पछिल्लो दिनमा राजनीतिले कसरी कोल्टे फेर्छ ?’

चियापान कार्यक्रममा प्रचण्डको सम्बोधनको पूर्णपाठ :–

चियापान र शुभकामना आदानप्रदान कार्यक्रमको शुरुवात नेपाली काँग्रेसबाटै भएको हो । अहिले यो राष्ट्रिय राजनीतिक संस्कृति जस्तै स्थापित भएको छ । सबैले शुभकामना आदान प्रदान कार्यक्रम मार्फत् हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण्य राख्ने एउटा माध्यम बन्न गएको छ ।

शुभकामना राख्दै गर्दा मैले विभिन्न राजनीतिक दलको रुपमा भन्दा पनि नेपालको परिवर्तनको सहयात्रीहरुको बीचको शुभकामना आदानप्रदान कार्यक्रम मानेको छु । जसको शुरुवात तपाईंहरुले गर्नुभएको छ र यो पटक तपाईंहरुले अझ व्यवस्थित, अनुशासित रुपले यो कार्यक्रमको आयोजना गर्नुभएको छ । यसको निम्ति पनि म हृदयदेखि धन्यवाद भन्न चाहन्छु ।

मैले आउँदै गर्दा तपाईंहरुको मनोबल बढ्दै गरेको, संस्कृतिप्रतिको लगाव र निष्ठा अक्षुण्य रहेको महसुस गरें । यस अर्थमा पनि म तपाईंहरुलाई बधाई भन्न चाहन्छु ।

राजनीति यस्तै नै हो । मैले भन्ने गरेको छु, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । असम्भव देखिने कुराहरु पनि राजनीतिक पार्टीको नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउन सकिन्छ भन्ने कुराको एउटा ठूलो दृष्टान्त पछिल्लो चरणमा दिवंगत गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर शुरु गरेको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र हामीहरुको बीचमा भएको सहकार्य र सहयात्राको एउटा नयाँ अभियानले प्रमाणित गरेको छ ।

एकता, सहकार्य र सहयात्रको अभियानमा दिवंगत गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको थियो र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै देशमा दिगो शान्ति र एउटा समृद्ध नेपालको अभियानतिर लैजाने जो प्रयास भएको थियो, हामीले यस प्रकारका शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्दैगर्दा त्यो महाअभियान, त्यतिबेला हामीले लिएका संकल्प र प्रतिबद्धताहरुप्रति दृढ रहने र संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत् देशको राष्ट्रिय स्वधीनता र जनताको समृद्धिको आकांक्षाको सम्बोधन गर्ने कुरा नै मुख्य हो भन्ने म ठान्छु ।

म फेरि पनि के भन्न चाहन्छु भने नेपाली कांग्रेसको यो शुभकामना आदान प्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीहरुकै बीचमा आएको महसूस हुन्छ । तपाईंहरुसँग आउँदा सहयागीहरुसँगै भेटघाटमा आएको महसूस हुन्छ । हेर्दै जाऊँ आगामी दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ ?

मलाई विश्वास छ, तर पनि हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको संकल्प जारी रहनेछ र सहयात्रीकै रुपमा हामी निरन्तर अघि बढिराख्नेछौं भन्ने विश्वाससहित फेरि एक चोटी बधाई र शुभकामना भन्दै विदा हुन चाहन्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.