‘कलियुग लागेपछि उल्टो बग्छ खोलो, पशुपतिमा ओइरिएछ अरिङ्गालको गोलो’

| 2019 Feb 17 | 11:48 am 6431

काठमाडौं, फागुन ५ : बिहीबार मात्र सार्वजनिक भएको चर्चित लोक दोहोरी गायक पशुपति शर्माको नयाँ गितमा प्रतिबन्ध लगाएपछि चौतर्फी आलोचना भइरहेको छ। बिहीबार बेलुका सार्वजनिक भएको लुट कान्छा लुट, बोलको गित शनिबार साँझ प्रतिबन्ध लगाउने दबाब दिएपछि गायक स्वयंले उक्त गित युट्युबबाट हटाएका हुन्।

दुई तिहाइको शक्तिशाली भनिएको सरकारले भ्रष्टाचारमा शून्य सहनशिलता भनेपनि भ्रष्टाचारलाई व्यंग्य गर्दै निकालेको गितमा भने प्रतिबन्ध लगाएको हो। यस विषयमा केही सरकार निकटहरुले राम्रो भनेपनि अन्य सर्वसाधार, नागरिक समाज, कलाकर्मीलगायतले चर्को विरोध गरेका छन्।

चर्चित हास्यकलाकार केदार प्रसाद घिमिरे उर्फ ‘माग्‍ने बढा’ ले कवितात्मक शैलीमा कडा व्यंग्य गरेका छन्। उनले लेखेका छन्, ‘लुट्न सके लुट् कान्छा लुट्न सके लुट्। लुट्या कुरा थापाउनेलाई भेट्नासाथै कुट्। कलियुग लागेपछि उल्टो बग्छ खोलो। पस्पतिमा ओइरिएछ अरिङ्गालको गोलो।’

जनता भोकमरीले मरेपनि राष्ट्रपतिले करोडौंको सुविधा उपभोग गरेको, जनताले आफ्नो सरकार भन्‍ने महसुस गर्न नसकेको र सरकार गफ गर्दै हिडेको भन्‍दै गितमार्फत व्यंग्य गरेका थिए। सोही गितलाई लिएर शनिबार शितल निवास, बालुवाटार र धुम्बाराहीमा गम्भीर छलफल भएको थियो। उक्त छलफलपछि गितमा प्रतिबन्ध लगाउने र यसको चर्को विरोध गर्ने भन्दै पार्टी र कार्यकर्तामा सर्कुलर जारी गरिएको थियो।

उक्त सर्कुलर बमोजिम पूर्व एमालेको भातृसंस्था युवा संघ नेपालले पशुपतिको सार्वजनिक कार्यक्रम बहिष्कार गर्नेभन्दै विज्ञप्ती जारी गरेको थियो।

स्वतन्‍त्र युवाहरुले आइतबार बेलुका पाँच बजे माइतीघर मण्डलामा पशुपति यही गीत बजाउने र सरकारको यस कदमको विरोध गर्ने जनाएका छन्। उनले सरकारले राजा र राणाभन्दा पनि क्रुर बन्‍न खोजेको भन्दै प्रदर्शनमा सहभागी हुनसमेत आव्हान गरेका छन्।

कलाकारहरुले दुई तिहाइको सरकार लुट्‍न माहिर भएपनि लुटेको पोल कसैले खोलिदिए त्यसलाई कारबाही गर्ने भन्‍दै व्यंग्‍य गर्न थालेका छन्। दुई तिहाइको शक्तिशाली भनिएको सरकार एक गितले नै हल्‍लिएको भन्दै सामाजिक सञ्‍जालमा चर्को आलोचना भइरहेको छ।

यसअघि हास्‍यकलाकार दिपकराज गिरीले व्यंग्य गर्दै सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘लुट्‍नसम्म लुट कान्छा लुट्‍नसम्म लुट, धेरै बोले कारबाही हुन्छ चुप लागेर सुत’। उनको यो पोस्टमा धेरैले सरकारको यस कदमको विरोध गर्दै कमेन्ट गरेका छन्। केहीले राणा र राजाको भन्दा पनि क्रुर सरकारको संज्ञा दिएका छन्। भ्रष्टाचार मौलाइरहेको बेला यो गितले व्यंग्य गरेकोले उचित भएको अधिकांशले कमेन्ट गरेका छन्।

पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा लगाम लगाउन खोजिरहेको सरकारले यस गितमा प्रतिबन्ध लगाउन दबाब दिएपछि गायक शर्माले गित हटाएको जानकारी फेसबुकमार्फत दिएका छन्।

यो पनि पढ्‍नुहोस्, 

गितमाथिको प्रतिबन्धप्रति कलाकारको आक्रोश

एउटै गीतले हल्‍लियो दुई तिहाइको सरकार, पशुपतिको सिर्जनामा प्रतिबन्ध !

‘लुट्‍न सके लुट् कान्छा, नेपालमै छ छुट’ (भिडियो सहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.