कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2022 Apr 22 | 04:49 pm 277

सप्तरी, बैशाख ९ः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हनुमाननगर कंकालीनी नगरपालिका-७ बस्ने रानी देवी मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीको २०७५ फागुन १५ गतेको फैसलाले २० वर्ष कैद ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका-५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

रानी देवीले आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा दोषी ठहर गरी अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाईएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ रातोपुलबाट ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय छबिराम लामीछाने लगायत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-७ बस्ने ६० वर्षीया चन्द्र माया प्रजालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेकी उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाई ल्याएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.