कर्णाली प्रदेशका तीन जिल्लालाई सडक सञ्जालमा जोडेर नेपाली सेनाको टोली फर्कियाे

रिपोर्ट नेपाल | 2019 Aug 09 | 08:55 am 49

सुर्खेत, साउन २४  करिब १४ वर्षको अवधिमा कर्णाली प्रदेशका तीन जिल्लालाई सडक सञ्जालमा जोडेर नेपाली सेनाको टोली फर्केको छ। जाजरकोट, रुकुम र डोल्पा जिल्लालाई सडक सञ्जालमा जोडेर नेपाली सेनाको सडक निर्माण कार्यदल साउन २० गते निर्माण बेस क्याम्पहरु उठाएर फिर्ता भएका हुन् ।

नेपाली सेनाको देवस्थल कैनकाँडा चौर जहारी तथा छिन्चु जाजर कोट डोल्पा दुनै सडक निर्माण कार्यदलले तीन जिल्लालाई सडक सञ्जालमा जोडेको हो । वि.सं. २०६१ सालमा सल्यानको सल्ली बजार बेस क्याम्पबाट सेनाले सडक निर्माणको काम थालेको थियो । सल्लीबजारदेखि सडक निर्माण थालेपछि सेनाले २०६५ सालमा रुकुम चौरजहारी र जाजरकोट खलंगामा सडक पुर्याएको थियो ।

त्यसपछि २०७५ सालमा डोल्पालाई सडक संजालमा जोडेको थियो । कूल १ सय १७.७ किमी सडकमा जाजरकोट खण्ड ४६.७ किमी, रुकुम खण्ड ३०.५ किमी र डोल्पा खण्ड ४०.५ किमी पर्दछ । तीन जिल्लालाई सडक सञ्जालले जोड्न सेनाले सातवटा बेसक्याम्प खडा गरेर काम थालेको थियो । जाजरकोटमा मन्मै र तल्लु बगर, रुकुममा मन्का बगर र त्रिवेणी तथा डोल्पामा खदाङ, घाउने र सुलिगाड बेसबाट सडक खन्ने काम गरिएको थियो ।

सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्ववन्धु पहाडीले तीन वटा जिल्लालाई सडक सञ्जालले जोड्ने क्रममा अग्ला भीरहरु, कडा चट्टानहरुको सामना गरिएको बताए । ‘डोल्पा दुनै सडक पुर्याएपछि हामीलाई दिएको जिम्मेवारी पूरा गर्यौं, त्यसैले साउन २० गतेदेखि हामी सबै फर्किएका छौं, उनले भने । ‘सडक कालोपत्रे गर्ने, पुलहरु निर्माण गर्ने काम सडक विभागको रहेको छ ।’ आजको गोरखापत्रमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.