काठमाडौँ चैत १८ : बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी/उद्योगी एक सातादेखि आन्दोलनमा छन् ।
सार्वजनिक यातायात क्षेत्रमा जस्तै इन्धन ढुवानीमा वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका हुन् ।
व्यवसायीहरूले डिलर कमिसन र भाडादर बढाउन सरकारलाई दबाब दिएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए। उपाध्यायका अनुसार आज बिहानदेखि व्यवसायीले ढुवानी रोकेका छन्। पछिल्लो समय पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी भाडा नबढेकाले नयाँ भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग छ।
पेट्रोलियम पदार्थको ढुवानी भाडा र डिलर कमिसन बढाउन माग राख्दै पेट्रोलियम व्यवसायीले ढुवानी ठप्प पारेका छन्। व्यवसायीले शुक्रबार बिहानैदेखि ग्यास, डिजेल, पेट्रोल, हवाई इन्धनलगायत सबै प्रकारका पेट्रोलियम उठाउन छाडेका छन्।
निगमले यसबारे वार्ताका लागि व्यवसायीलाई छलफलमा बोलाएको छ। तर, व्यवसायीले वार्तामा बस्न नमानेकाे प्रवक्ता उपाध्यायले बताए। उनले भाडा समायोजन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।