औषधि अनुसन्धान केन्द्र स्थापनाको माग

| 2022 Apr 24 | 07:39 am 225

चितवन, वैशाख ११ः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले औषधि उद्योगका समस्या समाधानका लागि आउने बजेटको कार्यक्रममा समेट्न आफूले पहल गर्ने बताएका छन् ।

चितवनमा जारी नेपाल फर्मा एक्स्पो २०२२ मा आयोजना गरिएको अन्तरक्रियामा उनले सरकारले सम्बोधन गर्नुपर्ने धेरै विषय भएकाले सकेसम्म औषधि क्षेत्रको समस्या समाधानका लागि पहल हुने बताए । “नेपालमा उत्पादित औषधिको परीक्षण गर्ने ल्याब (प्रयोगशाला)लाई प्रभावकारी बनाउने मागप्रति ध्यानाकर्षण भएको छ, नयाँ ल्याब खोल्नु पर्नेभन्दा पनि भइराखेकालाई प्रभावकारी बनाउने हो,” उनले भने ।

उपाध्यक्ष पौडेलले भने, “सरकारको धेरै बजेट तलब भत्तामा खर्च हुन्छ, छुट्याइएको विकास बजेट खर्च नभएको अवस्था छ ।” सीमित स्रोत साधनबाट धेरै काम गर्नुपर्ने हुँदा सबै क्षेत्रको समस्या समाधान गर्न सम्भव हुँदैन, उनले भने, सबै क्षेत्रमा बजेटको अभाव छ । कार्यक्रममा नेपाल औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले २०३५ सालमा बनेको औषधिसम्बन्धी ऐन परिमार्जन गर्नुपर्ने आवश्यक रहेको बताए ।

औषधि अनुसन्धानका लागि नयाँ ल्याब स्थापना गर्नुपर्ने, औषधि अनुसन्धान केन्द्र, भन्सार छुट र पाँचभन्दा धेरै प्रकारका औषधि उत्पादन गर्ने उद्योगले कच्चा पदार्थ आयात गर्नुपर्ने बताए । अहिले भइराखेको औषधि प्रयोगशाला नाम मात्रको भएकाले प्रभावकारी रूपमा सरकारले सञ्चालन गर्नुपर्ने र नगर्ने हो भने निजी क्षेत्रलाई ल्याब सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ थियो ।  औषधि उत्पादक सङ्घका अनुसार कोभिड–१० को समयमा ३० अर्ब रुपियाँको औषधि नेपाल आयात भएको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.