काठमाडौं, बैशाख १५: नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रलाई पर्याप्त बिजुली दिन नसक्ने बताएको छ। सुक्खायामका कारण आन्तरिक उत्पादन घटेको र भारतबाट बिजुली आयात गर्न नपाएका कारण विद्युत् कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ। ‘औद्योगिक क्षेत्रको बिजुली कटौती गरिरहेका छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘तर, यो समस्या लामो समय रहँदैन।’
औद्योगिक क्षेत्रमा करिब १ महिनादेखि अघोषित लोडसेडिङ भइरहेको छ। अब भने प्राधिकरणले घोषित रूपमा नै मागअनुसार विद्युत् दिन नसक्ने बताएको छ। करिब ३ सय मेगावाटको कमी भएकाले औद्योगिक क्षेत्रको विद्युत् कटौती गुर्नपरेको प्राधिकरणको भनाइ छ।
गार्हस्थको भने लाइन नकाटिने कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे। प्राधिकरणको यो निर्णयबाट ठूला औद्योगिक क्षेत्र प्रभावित हुने र रातको समयमा १२ घण्टासम्म लाइन काटिन सक्ने पनि घिसिङले बताए। ‘प्राधिकरणले एक दिन पहिला नै विद्युत् काट्नेसम्बन्धी जानकारी गराउने छ। तर, कति घण्टा भने त्यो दिनको आयातले नै निर्धारण गर्ने छ,’ उनले भने। भारतबाट आयातित कोइलाबाट मात्र बिजुली किन्ने प्रावधान रहकाले नेपालको मागबमोजिम आयात गर्न नसकिएको उनले बताए।
रुस युक्रेन युद्धका कारण पनि कोइलाको अभाव र अत्याधिक मूल्यवृद्धिले भारतमा नै १४ राज्यमा लोडसेडिङ छ। भारतमा सामान्यता २५ दिनको कोइला स्टक रहनुपर्नेमा अहिले करिब ८ दिनको मात्र स्टक रहने गरेको छ। त्यहाँ करिब ३० प्रतिशत थर्मल प्लान्टहरूमा करिब ३ दिनका लागि मात्र कोइला स्टक रहेको र करिब ५० प्रतिशत प्लान्ट बन्द भएको अवस्था छ। भारतले पनि औद्योगिक क्षेत्रलाई मागको ३० प्रतिशत मात्र बिजुली उपलब्ध गराउँदै आएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट