काठमाडौँ चैत २१ : एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा केपी ओलीबाहेकका अरू जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने बताएका हुन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीलाई प्रतिगामीको संज्ञा दिँदै भने प्रतिगामीका विरुद्धमा अग्रगमनकारीबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य हुन्छ, त्यसका लागि हामी छलफलमै रहेको बताएका छन् । नेपालले स्थानीय निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक पार्टीबीच तालमेल हुने बताए। , ‘प्रतिगमनका विरुद्धमा हामी अग्रगमनकारीबीच तालमेलको सहमति हुन्छ, त्यसलाई इमानदारीका साथ सबैले पालना गर्नुपर्छ अध्यक्ष नेपालले भने ।
एकीकृत समाजवादीमा प्रवेश गर्नेको जनलहर देखेर केपी ओलीको दिमाग हडबडिएको बताउँदै उनले भने, ‘हाम्रोमा प्रवेश गर्नेहरूलाई ओली समूहले बल प्रयोग गरेर रोक्ने प्रयास गरिरहेका छन्। तर पनि कुनै पार लाग्नेवाला छैन।’ आफ्नो पार्टी सही विचार, सही मूल्य र मान्यताले अघि बढेकाले पार्टीप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको नेता नेपालले बताए।
नेता नेपालले भने हाम्रो सिद्धान्त, विचार, नीति तथा मूल्य र मान्यता सही भएकै कारण हामीप्रति आकर्षण बढ्दो छ।’ पत्रकारहरूको जिज्ञासामा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउनु स्वाभाविक भएकाले त्यसबारे केन्द्रमा छलफल भइरहेको पनि उनले बताए।