एक सय ५७ नेपाली लिएर यूएईबाट जहाज नेपालका लागि उड्याे

| 2020 Jun 05 | 03:39 pm 128

एजेन्सी, जेठ २३ः एक सय ५७ नेपाली लिएर यूएईबाट जहाज नेपालका लागि उडेको छ । कोरोनाको कारण राेकिएका एक सय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत शुक्रबार नेपाल उडेका हुन् ।

उक्त जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना रहेकाे बताइएकाे छ ।

नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार यूएईबाट १ सय ६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताए । जहाज साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने जनाइएकाे छ ।

यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए । सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो । नेपालीलाई एकपटक जहाजमा राखेर फेरि ओरालिएको थियो । त्यसपछि क्वरेण्टीनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको जनाकाे छ। फर्कने नेपालीको कोरोना जाँच भएको छैन ।

सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एक सय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन । अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।

उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन । साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ ।

विदेशमा अति नै दुःख पाएका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार उनीहरुलाई स्वदेश ल्याउन लागिएको हो । यसअघि शुक्रबार बिहान म्यानबारबाट २६ जना नेपालीलाई स्वदेश ल्याइसकेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.