एक वर्षकाे निर्णयमा दुई पार्टीबीच एकता कि गठबन्धन !

| 2019 May 20 | 07:21 am 49

काठमाडौं, जेठ ६: तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको एक वर्ष पूरा भएको छ। दुई ठूला पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि अझै कार्यकर्ताबीच अन्तरघुलन हुन सकेको छैन।

एकता हुँदा दुई पार्टीकै नेता कार्यकर्ता एकआपसमै एकीकृत हुनेछन् र साच्चिकै एक पार्टी बन्नेछ भन्ने अपेक्षा थियो तर त्यसविपरीत एकता प्रक्रिया भागबन्डामा टुंगिएको छ। दुई पार्टीले कति–कति प्रतिशत नेता बाँडफाँट गर्ने र कमिटीको नेतृत्व कसले गर्ने भन्ने विषयमा पुगेर एकता प्रक्रिया टुंगिएको छ। केन्द्रीय कमिटीदेखि जिल्ला कमिटी गठनसम्म भागबन्डा गरिएको छ। पोलिटब्युरो पनि भागबन्डाकै आधारमा टुंगिँदैछ।

गत वर्ष मदन आश्रित स्मृति दिवसका दिन दुई पार्टी एकीकरण भई नेकपा बने पनि यस अवधिका निर्णय हेर्दा दुई पार्टीबीच एकता कि गठबन्धन भन्ने प्रश्न उठेको छ। नेकपा सचिवालयमा तत्कालीन एमालेबाट केपी शर्मा ओली, माधकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। स्थायी कमिटी र केन्द्रीय कमिटी गठन पनि गुटगत आधारमा बनाइएको छ। स्थायी कमिटीमा तत्कालीन एमालेबाट २७ र तत्कालीन माओवादी केन्द्रबाट १८ जना रहेका छन्। चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २ सय ४१ र तत्कालीन माओवादी केन्द्रबाट २ सय जना छन्। त्यसैगरी प्रदेश, जिल्ला र जनवर्गीय संगठनमा पनि दुवै पक्षले भागबन्डा गरेका छन्। पोलिटब्युरोमा पनि ८१ र ६६ को भागबन्डा हुने छ।

एकता प्रक्रिया भागबन्डामा टुंगिएकाले यो प्रश्न उब्जिएको हो। प्रदेश कमिटीमा पनि भागवण्डा गरिएको छ। सातवटै प्रदेशमा भएको भागबन्डा पनि केन्द्रीय कमिटी गठनजस्तै प्रकृतिको छ। प्रदेश १ कमिटीमा पूर्वएमालेबाट १ सय २२, पूर्व माओवादी केन्द्रबाट ८५ जना छन्। प्रदेश २ मा भने १०६/१०६ गरी बराबरी भागबन्डा गरिएको छ। प्रदेश ३ मा पूर्वएमालेबाट १६६ जना र पूर्वमाओवादी केन्द्रबाट १०१ जना, गण्डकी प्रदेशमा पूर्वएमालेबाट १०२ र पूर्वमाओवादी केन्द्रबाट ८५ जना, प्रदेश ५ मा पूर्व एमालेबाट १०६ र पूर्वमाओवादी केन्द्रबाट ९७ जना, कर्णाली प्रदेशमा पूर्वएमालबाट ८७ र पूर्वमाओवादीबाट ८८ जना, सुदूरपश्चिम प्रदेशमा पूर्वएमालेबाट १०० र पूर्वमाओवादी केन्द्रबाट ८३ जना भागबण्डा गरी एकीकरण टुंग्याइएको छ। जिल्ला कमिटी पनि भागबन्डामा गठन गरिएको छ। पूर्वमाओवादी केन्द्रको भागमा ३३ वटा जिल्ला परेका छन्। ती जिल्लामा अध्यक्ष पूर्वमाओवादी केन्द्र र सचिव पूर्वएमालेका नेताले पाएका छन्। ४४ जिल्लाको नेतृत्व पाएको पूर्वएमालेले पाएको छ। ती जिल्लामा सचिव पूर्वमाओवादी केन्द्रले पाएको छ।
जनवर्गीय संगठनमा पनि भागबन्डा गरिएको छ। २२ वटा जनवर्गीय संगठनमध्ये पूर्वएमालेको भागमा १६ र पूर्वमाओवादी केन्द्रको भागमा ६ वटा परेका छन्। नागरिक दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.