एक नम्बरमा आफूलाई मार्न विप्लवले टोली खटाएको प्रचण्डको खुलासा

| 2019 Mar 14 | 05:33 pm 48

काठमाडौं, फागुन ३० : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  विप्लव समूहले आफूलाई मार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा  योङ कम्युनिस्ट लिगले गरेको कार्यक्रममा विप्लवले एक नम्बरमा आफूलाई टार्गेट गरेको खुलासा गरेका हुन्।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक प्रचण्डले सार्वजनिक मञ्चबाट विप्लवबारे बोलेका छन् । तर, प्रतिबन्धबारे केही भनेनन् । सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रचण्डले प्रश्न गरे- मलाई मारेर यो परिवर्तन बाँच्ने हो त ?

आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विव्लव समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको भन्दै भनेका छन्, ‘मलाई आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मानुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाँकधम्की दिंदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी दिए । ‘ती साथीहरू सम्झिँदा दया माया लागेको छ। नक्कल गरेर पास भइन्न’, उनले भने, ‘महेन्द्रको नक्कल गर्न खोज्दा ज्ञानेन्द्र असफल भए। मैले ऊ बेलै कलाविहीन नौटंकी हुन्छ भनेको थिएँ, सत्य भयो।’

ज्ञानेन्द्र शाहले राजा महेन्द्रको कलाविहीन नाटक नक्कल गर्न खोन्दा राजतन्त्र नै समाप्त भएको उनले सुनाए । उनले भने, ‘अहिले पनि साथीहरुले जसरी गर्न खोजेको छन् । यो ०५२ साल होइन, ०७५ साल हो । राजतन्त्र छैन, मधेसी, दलित, जनजातिलगायतको प्रतिनिधित्व भएको छ, आफ्नै साथीहरुको सरकार छ । अनि परिस्थिति हेर्नु पर्दैन ?’

अध्यक्ष प्रचण्डले शहीदहरु युग युग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए । तल्लो तहसम्म पार्टी एकीकरणको अन्तिम रुपमा केही दिनमा नै हुने समेत जानकारी गराए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.