एक खर्बका नयाँ नोट छाप्दै राष्ट्र बैंक

| 2020 Jan 14 | 03:54 pm 90

काठमाडाैँ, पुस २९ : नेपाल राष्ट्र बैंकले करिब १ खर्ब रुपैयाँबराबरका नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाएको छ । ५, १० र ५०० रुपैयाँ दरका यी नोटहरू नै गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षरका अन्तिम लटका नोट हुनेछन् ।

गभर्नर नेपालको कार्यकाल आउँदो चैत महिनामा सकिँदैछ, त्यसपूर्व नै प्रक्रिया सकिने गरी नयाँ नोट छाप्नका लागि टेन्डर आह्वान गरिएको हो ।

राष्ट्र बैंकले ५ दरका ३० करोड थान, १० का ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छाप्न लागेको हो । रकमगत आधारमा यिनको मूल्य ९० अर्ब ९० करोड रुपैयाँ हुन आउँछ ।

यी नोटहरू छाप्नका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धीहरूबाट बोलपत्र आह्वान गरिएको हो, जसको अन्तिम मिति फागुन १६ गतेसम्म तोकिएको छ ।

छपाइका लागि कम्पनी छनौट गर्दा गभर्नर नेपालको कार्यकालको अन्तिम समय हुनेछ भने यो लटबाट आउने नोटहरूको सिरिज नै गभर्नर नेपालको हस्ताक्षर भएका नोटहरूको अन्तिम सिरिज हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.