एकीकृत शक्ति नेपालको संसदीय बोर्ड गठन

| 2022 Apr 08 | 08:27 am 477

काठमाडौँ चैत २५: नेपाल राष्ट्रको विविध क्षेत्रमा विभिन्न पेशा व्यवसायमा कार्यरत रहेर विशिष्ट योगदान गरेका व्यक्तिहरू संगठित भएर खडा गरिएको तथा निर्वाचन आयोगमा हालै दर्तासमेत भएको एकीकृत शक्ति नेपालले स्थानीय तहमा भाग नलिने भएको छ ।

एकीकृत शक्ति नेपालले जनता सङ्गठित हुँदैछन् अभियानु अन्तर्गत देश विदेशमा समेत आफ्नो संगठन विस्तार गर्ने क्रममा सम्पर्क र भेटघाटलाई तीव्रता दिन थालेको बताएको छ ।

एकीकृत शक्ति नेपालको उद्देश्यमा इमान्दारीका साथ राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव , अखण्डता, गैर्‍हजातिवाद, सुशासन र मौलिक धर्म सस्कृतिको संरक्षणसहित समृद्धि चाहने हरेक नेपालीजनलाई एकीकृत शक्ति नेपालमा आबद्ध हुनुु आव्हान गर्दै आएको छ । एकीकृत शक्ति नेपालले निर्वाचनका लागि विभिन्न कार्य गर्नेगरी संसदीय बोर्डसमेत गठन गरेको जानकारी दिइएको छ ।

सो दलको संसदीय बोर्ड दलका अध्यक्ष देवप्रकाश त्रिपाठीको नेतृत्वमा गठन भएको छ । बोर्डमा पार्टीका वरिष्ठ उपाध्यक्ष डा. रामप्रसाद उप्रेती, उपाध्यक्ष इन्द्र तामाङ, महासचिव बीपी तिल्मिसिना, सचिवहरू सुभास पाण्डे, दुर्गाविक्रम थापा, सुवास आचार्य, पदम पाण्डे, कोषाध्यक्ष श्याम पाण्डे, उपत्यका संयोजक जुलुमरत्न डंगोल, भिक्षु आनन्द, डा. मनोहरलाल श्रेष्ठ, मञ्जिला शर्मा र जयबहादुर चन्द रहेका छन् ।

एकीकृत शक्ति नेपालले स्थानीय निर्वाचनमा कुनै पनि उम्मेदवार खडा नगर्ने बताएको छ । स्थानीय निर्वाचनको अवलोकन, अध्ययनका साथै स्थानीय निर्वाचनमा कार्यक्रमहरू गरेर जनचेतना अभियान सञ्चालन गर्ने काम गर्ने एकीकृत शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीले जानकारी दिए ।

अध्यक्ष त्रिपाठीका अनुसार स्थानीय सरकारलाई निष्पक्ष र पारदर्शी तुल्याउन गैर्‍हदलीय निर्वाचनको अपरिहार्यता रहन्छ । एकीकृत शक्ति नेपालले स्वतन्त्र उम्मेदवारसँग सहकार्य गर्ने निर्णय लिएको छ।

बताइएअनुसार संसदीय निर्वाचनमा चाहिँ एकीकृत शक्ति नेपाल धुमधामका साथ सहभागी हुनेछ । एकीकृत शक्ति नेपालले संसदीय निर्वाचनका लागि केन्द्रित भएर अहिलेदेखि नै विविध कार्यक्रमहरू सञ्चालन गर्दै आफ्नो पार्टीका गतिविधिहरू अगाडि बढाउँदै जनसमक्ष जाने जानकारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.