एउटै गीतले हल्‍लियो दुई तिहाइको सरकार, पशुपतिको सिर्जनामा प्रतिबन्ध !

| 2019 Feb 16 | 10:16 pm 3363

काठमाडौं, फागुन ४ : भ्रष्टाचार नियन्त्रण हुन नसकेको भनेर व्यंग्य प्रहार गरिएको गायक पशुपति शर्माको लोकदोहोरी गित युटयुब च्यानलबाट हटाइएको छ।

प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा बालुवाटारदेखि शितल निवाससम्म तरंग ल्याएको थियो।

पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा लगाम लगाउन खोजिरहेको सरकारले यस गितमा प्रतिबन्ध लगाउन दबाब दिएपछि गायक शर्माले गित हटाएको जानकारी फेसबुकमार्फत दिएका छन्।

लोक दोहोरी प्रतिष्ठानका निर्वतमान अध्यक्ष चन्द्र शर्मा यथार्थपरक गित आउने क्रम बढीरहेको बेला यो गित अर्को उदाहरण भएको यसमा राज्यले लगाम लगाउनु उचित नभएको बताए। उनले भने, ‘राज्‍यलाई यथार्थ बताउने सिर्जनामा लगाम लगाउनु सरकारको कायरता हो। केही शब्दमा आपत्तिजनक भए परिवर्तन गर्न सकिन्छ।’

गीतमा राष्ट्रपति र प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ। काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे शनिबार दिउँसो छलफल भएको स्रोतले बतायो। यो गीतका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत छलफल भएको स्रोतले बतायो । गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ ।

उक्त गित दुई दिनको अवधीमा तीन लाखभन्दा बढी पटक हेरिएको थियो।

पछिल्लो समय सुशासन कायम गर्ने मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै घुस आतंक मच्चिनु, मालपोत, भन्सार लगायतका जनताले दैनिक सेवा लिने सरकारी निकायहरुमा हुने घुस र भ्रष्टाचार आंतक फैलनु जस्ता विषयसँग शर्माको गीतको भाव मेल खान्छ।

पशुपतिले फेसबुकमा यस्तो लेखे: 

उनले हटाएको विषयमा फेसबुकमा स्टाटस लेखेका छन् । आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्युहरूमा सादर नमस्कार !

हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरूले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। तर सोही गीतमा प्रयोग भएका केही शब्दहरूलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरू समक्ष राख्न गइरहेको छु।

सर्वप्रथम त म यहाँहरूलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिनँ। तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु। मेरो गीतले विसंगतिलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनीतिक दल या संस्था संग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन। तर गीतमा समावेश केही शब्दहरूमा मेरा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको छु। केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।

सुझाव दिनुहुने राजनीतिक व्यक्तित्वहरू, मेरा अग्रज एवं समकालिन साथीहरूलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको खण्डमा म अन्तरहृदयदेखि माफी चाहन्छु। मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो। यसमा म पुन: प्रष्ट पार्न चाहन्छु। अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु।

र, अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु।

धन्यवाद।
पशुपति शर्मा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.