सत्ता गठबन्धनको ‘चुनावी कमाण्डर’ पौडेल

| 2022 Apr 06 | 08:33 am 377

काठमाडौँ चैत २३ : सत्तारूढ गठबन्धन दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने मोडालिटीबारे सत्ता गठबन्धनबीच छलफल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंगलबार निर्वाचन परिचालन तथा अनुगमन समिति बनाएको छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय समिति गठन गरेको हो ।

स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका ५ दलले यसअघि नै गरिसकेका थिए। चैत १७ गते बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो। त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो। समितिलाई चैत २२ गते प्रतिवेदन बुझाउन भनिएको थियो।

सात प्रदेश ७७ जिल्ला र ७५३ वटै पालिकामा गठित संयन्त्रले मंगलबार देशभरको प्रतिवेदन दिएको थियो। स्थानीय संयन्त्रले बुँदागत आधारमै सबै पार्टीको २०७४ को र हालको अवस्थाको विश्लेषण गरेको छ। स्थानीय तहमा विगतको निर्वाचन परिणाम र पछिल्लो राजनीतिक अवस्थाका आधारमा चुनावी रणनीति बनाउने गठबन्धनको तयारी छ। सोही प्रतिवेदनका आधारमा चुनावी गठबन्धनको विषय अगाडि बढेको हो।

परिचालन तथा अनुगमन समितिमा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगनकुमार थापा, नेकपा माओवादीबाट वर्षमान पुन, प्रमुख सचेतक देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल, उपमहासचिवमा विजय पौडेल, जनता समाज पार्टीबाट अशोक राई र मन्त्री रेणु यादव, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी छन्।

समितिका संयोजक पौडेलले समितिको बैठकसमेत आह्वान गरे। ‘गठबन्धन दलबीच गठबन्धन गरेरै जाने तयारी भएको छ। कसरी गर्ने ? समिति कसरी परिचालन गर्ने भन्नेबारे छलफल राखेका छौं,’ उनले मंगलबारै बालुवाटारमा बैठक बोलाएको बताउँदै भने, ‘कुन स्थानीय तहमा कसको प्रभाव सबैभन्दा बढी छ। हामी सबै कुरा विचार र अध्ययन गरेर सम्बन्धित स्थानीय तहमा गठबन्धन गर्छौं। सबै पार्टीहरूको धारणाअनुसार चुनाव परिचालन समिति कहाँ कसलाई कसरी परिचालन गर्ने भन्ने बारे तय गर्छौं।’

खस्किएको अर्थतन्त्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण
गठबन्धनको बैठकमा नेताहरूले अर्थतन्त्रमा देखिएका समग्र समस्याका विषयमा जानकारी गराएका थिए। अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पहलका लागि आह्वानसमेत गरे। गठबन्धनको बैठकमा भएको छलफलका विषयमा नेता झलनाथ खनालले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामीले अर्थतन्त्रमा सिर्जित समस्याहरू समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेका छौं। उहाँले पनि विज्ञहरूसँग परामर्श गर्दै आएको र थप परामर्श गरी अगाडि बढ्ने बताउनुभएको छ।’

उम्मेदवार टुंगाउने काम बन्द गर्न निर्देशन
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउने काम तत्काललाई रोक्न कांग्रेसले जिल्ला समितिहरूलाई निर्देशन दिएको छ। सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएसँगै कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ।

कांग्रेस पार्टी कार्यलयका मुख्य सचिव कृष्णचन्द्र पौडेलले भने, ‘कांग्रेसको विधानअनुसार जुन तहले टिकटको सिफारिस गर्ने हो। त्यो तहले कांग्रेसले दिएको समय सीमाभित्र टुंगो लगाउने भनिएको थियो।’ उनका अनुसार केन्द्रबाट अर्को निर्णय नआउँदासम्म टिकट दिने काम होल्ड गर्न भनिएको हो। उनले भने, ‘सिफारिसलगायतका सबै काम गरे पनि नाम भने नतोक भनेको हो। अर्को सूचना नआउँदासम्म रोक्न भनिएको हो।’

यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो। जसअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुंग्याएर नामावली बुझाउन निर्देशन दिएको थियो।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो। पाँच दलीय गठबन्धनको तालमेल गर्न आवश्यक पर्ने भएको हुँदा यस्तो सर्कुलर गरिएको पौडेलले बताए। गत बिहीबार बसेको गठबन्धनको बैठकले स्थानीय तहको पार्टीगत अवस्थाबारे केन्द्रमा रिपोर्ट गर्न निर्देशन दिने काम गरेको गठबन्धनमा सहभागी एक नेताले बताए। अबको ३ दिनमा रिर्पोट आउने गरी चैत २५ गतेभित्र रिपोर्ट पठाइसक्ने मंगलबारको बैठकले ताकेता गरेको छ। प्रदेश, जिल्ला र पालिका तहमा बनेको संयन्त्रले रिपोर्ट पठाएपछि पौडेल नेतृत्वको समितिले अवस्थाबारे विशेष रूपमा विश्लेषण गर्नेछ। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विश्लेषण गरेर आएको रिपार्टबाट चुनावी तालमेलबारे मोडालिटी तयार गरिने बताइन्।

गठबन्धनको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि छलफल गरिएको थियो। प्रधानमन्त्री देउवाले भ्रमणका उपलब्धिबारे जानकारी गराउँदै समग्रमा भ्रमण सफल भएको बताएका थिए। आजको अन्नपुर्ण पोस्ट बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.