उम्मेदवार छनोटको प्रक्रियामा कांग्रेस

| 2022 Apr 04 | 07:49 am 297

काठमाडौँ चैत २१ : वैशाख ३० गते हुने स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको मिति नजिकिए सँगै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस वडा तहदेखि उम्मेदवार छनोटको प्रक्रिया शुरू गरेको छ । उम्मेदवार छनोटको प्रक्रिया सँगसँगै कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूको ‘ग्राउन्ड रियालिटी’ बारेमा पनि अन्तिम निष्कर्ष निकाल्दै छ ।

केन्द्रीय परिपत्रअनुसार कांग्रेसको ७ सय ५३ वटै स्थानीय तहमा वडा सदस्यदेखि पालिका अध्यक्षसम्मको उम्मेदवार छनोट कार्य अघि बढेको छ । कांग्रेसको वडा अध्यक्षसम्मको उम्मेदवारको पहिलो नाम सिफारिस वडा कार्यसमितिले गर्छ भने पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको पहिलो नाम सिफारिस गाउँ नगर कार्यसमितिले गर्छ । उम्मेदवारको अन्तिम घोषणा गर्ने निकाय रहेको संसदीय समिति पनि छिट्टै गठन गर्न केन्द्रले निर्देशन दिएको छ ।

कांग्रेसको वडा अध्यक्षसम्मको उम्मेदवारको अन्तिम टुंगो प्रतिनिधिसभा संसदीय समितिले लगाउँछ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार घोषणा जिल्ला संसदीय समितिले गर्छ । नगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख प्रदेश संसदीय समितिले टुंगो लगाउँछ भने महानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रीय संसदीय समितिले लगाउँछ ।

कांग्रेसको प्रत्येक पदका लागि शुरूमा एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस हुन्छ । भोलि मंगलबारसम्म देशभरको स्थानीय तहलाई माथिल्लो तहमा उम्मेदवारको नाम पठाउन भनिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आइतबार देशभरका प्रायः वडाहरूमा कार्यसमिति बैठक बसेको बताइएको छ । आज सोमबार वडा कार्यसमितिले चयन गरेको उम्मेदवारको नाम पालिका तहमा आउने र पालिकाको कार्यसमितिले पनि भोलि मंगलबारसम्म बैठक बसी पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिसबमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउने बताइएको छ । प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समितिलाई र प्रतिनिधिसभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिलाई उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था भएको प्रवक्ता महतले बताएक छन् ।

वडा, पालिका र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सिफारिसबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सिफारिसअनुसार प्रतिनिधिसमा संसदीय समितिले वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारको टुंगो लगाउनेछ । २५ गतेसम्म यो काम सम्पनन गर्न प्रतिनिधिसभा संसदीय समितिलाई निर्देश गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय समितिले चैत्र २६ गते बैठक बसेर आफ्नो क्षेत्रका पालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारबारे रायसहित जिल्ला कार्यसमितिलाई सिफारिस गर्नेछ । जिल्ला कार्यसमितिको चैत्र २८ गते बैठक बस्ने र २९ गते प्रदेश कार्यसमितिलाई सिफारिस गर्ने कांग्रेसको परिपत्रमा उल्लेख छ । चैत्र ३० गते सातै प्रदेश कार्यसमितिको बैठक बस्ने र वैशाख १ गते उम्मेदवारको नामावली तय गरी केन्द्रलाई लेखी पठाउन निर्देश गरिएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूबीच स्थानीय आवश्यक्ताअनुसार चुनावी तालमेल गर्न सक्ने नीतिअनुरूप सबै स्थानीय तहलाई गठबन्धनमा रहेका दलहरूको ग्राउन्ड रियालिटी बुझेर प्रतिवेदन पठाउन पनि केन्द्रले निर्देश गरेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हाल गठबन्धनमा रहेका दलहरूको त्यस पालिका र पालिकाअन्तर्गतका वडाहरूमा प्राप्त मतको अवस्था, पालिकाभित्र २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले तथा अन्य प्रतिस्पर्धी पार्टीको प्राप्त मतको अवस्था, पालिकाभित्र गठबन्धमा रहेका दलहरूको अलगअलग वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत, पालिकाभित्र गठबन्धनमा रहेका दलहरूको संयुक्त वर्तमान सांगठनिक अवस्था मतभारको प्रतिशत, पालिकाभित्र एमाले तथा प्रतिस्पर्धी अन्य पार्टीको वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत सबै अध्यक्ष विश्लेषण गरी भोलि २२ गतेभित्र राय सुझावसहित केन्द्रीय निर्वाचन परिचालन समितिमा अनिवार्य पठाउन निर्देशन गरिएको छ । आजको नेपालसमाचार पत्र बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.