इँट्टा उद्योगमा काम गर्ने मजदुरको बिमा र स्वास्थ्य उपचार उद्योगले बहोर्ने

| 2021 Apr 08 | 08:38 am 205

धादिङ, चैत २६ः जिल्लाकाे थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेस्ट इँट्टा उद्योगमा कार्यरत रोल्पाका २४ वर्षीय गणेश घर्तीको मेसिनमा च्यापिएर गत फागुनमा मृत्यु भयो। उद्योगले गरिदिएको दुर्घटना बिमाले घर्तीको परिवारलाई केही राहत मिल्यो। बिमा बापतको सात लाख र आतेजाते रकम उनको परिवारले पाए। आर्थिक अवस्था कमजोर र ज्याला, मजदुरी गरेर जीविका चलाउने घर्ती परिवारको सन्तान गुमाउँदाको पीडामा दुर्घटना बिमा बापतको रकमले मलम लगायो।

इँट्टा उद्योगमा काम गर्ने हरेक मजदुरको सामूहिक बिमा र स्वास्थ्य उपचारको सम्पूर्ण खर्च उद्योगले नै बहोर्ने गरेको एभरेस्ट इँट्टा उद्योगका सञ्चालक पुष्पराज रेग्मीले बताए। ‘हाम्रो उद्योगमा मेसिनबाट इँट्टा बनाइन्छ, जसले गर्दा छिटो र सरल काम हुने र धेरै कामदार पनि लाग्दैन,’ सञ्चालक रेग्मीले भने, ‘करिब डेढ सय मजदुर छन्, सबैको दुर्घटना बिमा गरिदिएको छौं भने उद्योगमा नै प्राथमिक उपचार हुन्छ, पढाईका लागि बालबालिकालाई सिकाइ केन्द्र पनि छ।’ उद्योग र कामदारबीच भएको सम्झौता अनुसार नै तलब दिने गरिएको सञ्चालक रेग्मीले बताए।

जिल्लामा ३० भन्दा बढी इँट्टा उद्योग सञ्चालनमा छन्। तीमध्ये चारवटा मात्रै बालश्रममुक्त छन् र तिनले कामदारको बिमा गरिदिएका छन्। धुनीबेसी नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेष्ट इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ८ मा रहेको यति इट्टा उद्योग र गजुरी गाउँपलिका वडा नं ५ मा रहेको राजधानी इट्टा उद्योगमा बालश्रम मुक्त छ। उद्योग परिसरमा बालबालिकाका लागि सिकाई केन्द्र स्थापना गरिएको छ, प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएमा पनि उद्योगले नै खर्च व्यहोर्ने गरेको छ।

धुनीबेसी नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इँट्टा उद्योगले पनि कामदारको बिमा गरिदिएको छ। उद्योगमा कार्यरत नेपाली तथा भारतीय कामदारको बिमा गरिदिएको सञ्चालक सञ्जय न्यौपानेले बताए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.