आफ्नो आदेशको समीक्षा गर्दै जिल्ला प्रशासन कार्यालय

रिपोर्ट नेपाल | 2022 Jan 28 | 07:49 am 245

काठमाडौं, माघ १४ः कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आफूले जारी गरेको आदेशबारे आज शुक्रबार समीक्षा गर्ने भएका छन् । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक स्थानमा भीडभाड हटाउनका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै आर्थिक गतिविधि सञ्चालन गर्न विभिन्न निर्देशन जारी गरेका थिए ।

सो आदेशको कार्यान्वयनको अवस्था, त्यसको प्रभाव र सर्वसाधारणको गुनासोलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयहरूले ती आदेशहरूको समीक्षा गर्न लागेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने– ‘ती आदेशहरूले कोरोना संक्रमण कति कम भयो ? यी सबैको लेखाजोखा गरेर एउटा निष्कर्ष निकाल्ने छौं ।’

प्रशासनले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर क्लब, हेल्थ क्लव, पटके हाटबजार, जिम हल माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । त्यसैगरी काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक तथा निजी यातायातमा जोर बिजोर प्रणाली लागू गरेको छ । जोर–बिजोर प्रणालीले सवारीसाधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले मिश्रित प्रतिक्रियाहरू आएको जिकिर गर्दै भने– ‘कसैले यसले भीडभाड बढाएको भनेका छन् । कतिले अनावश्यक रूपमा हिँडडुल गर्ने कम भएको पनि भनेका छन् । हामी पनि अनुगमन गर्दै छौं ।’

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी उपाध्यक्षले पनि शुक्रबारसम्ममा अर्को आदेश जारी गरिने जानकारी दिए। यद्यपि, जोर–बिजोर प्रणालीलाई हटाउनेबारे निष्कर्षमा पुगिनसकेको पनि जानकारी दिँदै उनले भने– ‘जोर–बिजोर प्रणालीबारे समीक्षा हुँदैछ । हेरौं के निष्कर्ष निस्किन्छ ।’ नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.