आठ हजार बढी होम आइसोलेसनमा

| 2020 Sep 18 | 07:47 am 80

काठमाडौं, असाेज २ः कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो ।

हाल देशभर ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार १ सय ८७ जना होम आइसोलेसनमा छन् ।

यस्तै, प्रदेश २ मा १ हजार २ सय ८७, प्रदेश १ मा १ हजार १ सय ७२, प्रदेश ५ मा १ हजार ६७, सुदूरपश्चिम प्रदेशमा ३ सय १३, गण्डकी प्रदेशमा १ सय ८२ र कर्णाली प्रदेशमा १ सय ३० जना होम आइसोलेसनमा छन् ।

कोरोना भाइरस संक्रमितमध्ये निको भएर जानेको संख्या बढ्दै गएको छ । हालसम्म देशभर ५९ हजार ५ सय ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर घर फर्किएका छन् ।

बिहीबार थप १ हजार २ सय ४३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ३८ जना डिस्चार्ज भएका थिए । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन् । नेपालभर हालसम्म आरटी–पीसीआर प्रविधिबाट ८ लाख ८२ हजार ९ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.