आज भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व मनाइँदै

| 2022 Apr 10 | 09:38 am 437

काठमाडौँ चैत २७ : चैत्र शुक्ल नवमीका दिन असत्यमाथि सत्यको विजय र मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। आजका दिन व्रत बसी भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा राम मन्दिरहरूमा पूजापाठ गरिन्छ।

राजा दशरथ र रानी कौशल्यावतीको पुत्रका रूपमा आजकै दिन भारतको अयोध्यामा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो। आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने हुनाले त्यही स्मृतिमा हिन्दु धर्मालम्बिहरुले व्रत बसी भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।

दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको मानिन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनु भएकोथियो।

आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ। पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.