आइसीसी टी-२० वरियतामा महेन्द्रसिंह धोनी र क्रिस गेलभन्दा पारस खड्का अगाडि

| 2019 Aug 08 | 02:42 pm 124

काठमाडौं, साउन २३ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको टी–२० ब्याटिङ वरीयतामा नेपालका कप्तान पारस खड्काले भारतीय राष्ट्रिय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी र वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पछि पारेका छन् ।

कप्तान पारस नयाँ वरीयताको ६६औँ स्थानमा पुगेका छन् । यता भारतका विकेटकिपर ब्याट्सम्यान धोनी वरीयताको ६७औँ स्थानमा छन् । सन् २०१६ मा वेस्ट इन्डिजलाई टी–२० विश्व च्याम्पियन बनाएका गेल पारसभन्दा सात स्थान तल परेका छन् ।

गेल ७३औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । कप्तान पारसले (४१७ रेटिङ प्वाइन्ट) बटुले । धोनीले चार सय १५ तथा गेलले तीन सय ८२ रेटिङ अंक बटुले । यसैगरी ब्याटिङ वरीयतामा भारतका सुरेश रैना ७५औँ स्थानमा छन् ।

टी–२० क्रिकेटको अलराउन्डरतर्फको वरीयतामा पारसले छलाङ मारेका छन् । उनले यसपटक एकैपटक १५ स्थान सुधार गरेका हुन् । ताजा वरीयताअनुसार पारस अलराउन्डरतर्फ २६औँ स्थानमा छन् । मलेसियाविरुद्धको टी–२० शृंखला र टी–२० विश्वकपअन्तर्गत अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा कप्तान पारस अलराउन्डरतर्फको वरीयतामा उकालो लागेका हुन् ।

पारसको यो वरीयता कुनै पनि नेपाली खेलाडीले आइसिसी वरीयतामा हात पारेको अहिलेसम्मकै उच्च हो । पारसले भारतका सुरेश रैना र जिम्बावेका इल्टोन चिगुम्बुरासँगै संयुक्त रूपमा २६औँ स्थानमा प्राप्त गरेका छन् । उनीहरूले ९० रेटिङ अंक पाएका छन् ।

कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटमा नाम चलेका दिग्गज क्रिकेटरलाई पछि पारेका छन् । भारतीय राष्ट्रिय टोलीका अलराउन्डर हार्दिक पाण्ड्यासमेत उनीभन्दा पछि छन् । पाण्ड्या पारसभन्दा १६ स्थानपछि ४२औँ स्थानमा छन् ।

यस्तै, टी–२० फ्रेन्चाइज क्रिकेटमा बल र ब्याटबाट सशक्त प्रदर्शन गर्ने वेस्टइन्डियन खेलाडी एन्ड्रे रसेल पनि पारसभन्दा वरीयतामा निकै पछि परेका छन् । रसेल कप्तान पारसभन्दा २७ स्थानपछि ५३औँ स्थानामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.