अस्वाभाविक गठबन्धनको स्वभाविक अर्थ

रिपोर्ट नेपाल | 2022 Apr 20 | 02:03 pm 485

जब आफ्नो आस्था र विश्वासविपरीतको विचार समूहलाई मतदान गर्नुपर्छ भने राजनीतिकर्मीहरूले बेग्लाबेग्लै राजनीतिक दल गठन गरेर जनतालाई किन विभाजन गर्नु ? विचारका नाममा द्वन्द्व र तनाव बारम्बार किन पैदा गर्नु !? मतदान नेताले निर्दिष्ट गरेको पक्षलाई गर्नुपर्ने हो भने कोही-कसैले आफ्नो पूरा जीवन कुनै अमूक समूहका नाममा किन खर्च गर्नु ?
  • देवप्रकाश त्रिपाठी

सिद्धान्ततः राजनीतिले गरिबी, अशिक्षा, गलत शिक्षा, भ्रष्टाचार, अनेकता, सामाजिक वैरभाव र मौलिक सभ्यताविपरीत क्रियाकलापलाई आफ्नो मूख्य सत्रु ठान्दछ । उल्लिखित ‘सत्रु’विरुद्ध विश्वका सबै मुलुकको राजनीति केन्द्रीत रहनुपर्छ भन्ने ब्यहोरा शतप्रतिशत सही हो र, अधिकाङ्श विपन्न एवम् सभ्य र समृद्ध बन्न बाँकी मुलुकको राजनीतिले उल्लिखित तत्वलाई मूख्य सत्रु मानेर नीति-व्यवहार तर्जुमा गर्ने गर्दैनन् या गरिरहेका छैनन् भन्ने पनि पूर्णतः सही हो । राजनीतिबिना कुनै पनि राज्य सञ्चालन हुन नसक्ने तथ्यबोध संसारभरिका मानिसमा छ, तथापि विपन्न मुलुकमा एकथरी मानिस शान, शक्ति, मान, प्रतिष्ठा र आर्जनको मूख्य साधन राजनीतिलाई ठानेर त्यसप्रति आकर्षित भइरहेका हुन्छन् भने त्यहीँ अर्काथरी मानिस राजनीतिलाई अति घृणा गर्छन् र, फोहोरी खेल भन्दै त्यसमा सहभागिता जनाउने रुचि राख्दैनन् ।

दक्षिण अमेरिका र अफ्रिकी मुलुकहरूमा जस्तै एशियाका कैयन मुलुकमा राजनीतिप्रतिको अति आकर्षण र चरम घृणा एकसाथ प्रकट हुने गरेको पाइएको छ र, नेपालले पनि यस्तै नियति भोगिरहेको छ । राजनीति जब सिद्धान्त र विचारविहीन बाटोमा बरालिन थाल्छ, जब सत्ताकेन्द्रीत राजनीति बलवान भएर आउँछ, तब राजनीतिप्रतिको अति आकर्षण र चरम वितृष्णाको परस्पर विपरीत स्थिति एकसाथ देखापर्दाेरहेछ । नेपालमा वि.सं. २००७ सालयता भएका अनेक प्रकारका राजनीतिक अभ्यासले नेपाली जनताका दृष्टिमा द्रुत कमाइको सबैभन्दा प्रभावकारी साधन राजनीति बनेको छ, राजनीतिबाहेकको कुनै पनि क्षेत्र कष्ट र विपत्तिको कारण मात्र बनिरहेको छ ।

राजनीति जब सत्ताकेन्द्रीत हुने गर्छ, त्यसपछि सत्ताप्राप्तिका निम्ति हुने प्रतिष्पर्धाले राजनीतिक समूहबीच सत्रुभावको स्थिति पैदा गर्दछ र, सिद्धान्तहीन राजनीतिमा चरम विकार उत्पत्तिको मूख्य कारण पनि यही नै हुने गर्दछ । सत्ताप्राप्तिको मार्गमा सबैभन्दा ठूलो अवरोधक शक्तिलाई परास्त गर्ने र सत्ताको मार्ग सहज बनाउने एक मात्र उद्देश्यमा आधारित भएर गरिने गठबन्धनमा झार, पात, धुलो मैलो आदि जेसुकै समेटिन सक्छन् । त्यहाँ विचार, दर्शन, सिद्धान्त, नीति, मूल्य-मान्यता र कार्यकर्ताका भावना प्राथमिकतामा पर्दैनन्, नेतृत्वको महत्वकाङ्क्षा र योजनालाई पार्टी निर्णयका रूपमा स्वीकार गर्नुपर्ने बाध्यता आइपर्छ ।

सत्ताप्राप्तिको मार्गमा सबैभन्दा ठूलो अवरोधक शक्तिलाई परास्त गर्ने र सत्ताको मार्ग सहज बनाउने एक मात्र उद्देश्यमा आधारित भएर गरिने गठबन्धनमा झार, पात, धुलो मैलो आदि जेसुकै समेटिन सक्छन् । त्यहाँ विचार, दर्शन, सिद्धान्त, नीति, मूल्य-मान्यता र कार्यकर्ताका भावना प्राथमिकतामा पर्दैनन्, नेतृत्वको महत्वकाङ्क्षा र योजनालाई पार्र्टी निर्णयका रूपमा स्वीकार गर्नुपर्ने बाध्यता आइपर्छ ।

राजा महेन्द्र देशभक्त र राष्ट्रवादी थिए, यसमा नेपालीहरूको असहमति बिरलै हुन सक्ला । जतिबेला उनको प्राथमिकतामा सत्ता परेको थियो, त्यो समयमा उनले सत्रु पहिचान गर्ने रोचक अवधारणा बनाएका थिए । वि.सं. २०१७ को राजनीतिक परिवर्तनपछि राजा महेन्द्रले सूरक्षासम्वद्ध उच्च अधिकारीहरूलाई काङ्ग्रेसप्रति अलिक कठोर र कम्युनिष्टप्रति नरम ब्यवहार गर्न निर्देशन गर्ने गर्दथे । त्यस्तै निर्देशन दिने क्रममा एक सूरक्षा अधिकृतले हिम्मतका साथ जिज्ञाशा राखे- ‘सरकार ! काङ्ग्रेस संवैधानिक राजतन्त्र स्वीकार गर्छौं भन्छ र कम्युनिष्टहरू गणतन्त्र स्थापना गर्ने कुरा गर्छन् । जो गणतन्त्र स्थापनाको लक्ष्य राख्छ उसप्रति नरम र संवैधानिक राजसंस्थाको पक्षमा उभिएको काङ्ग्रेसप्रति चाहिँ कठोर व्यवहार गर्नुपर्ने कारणको अर्थ बुझिएन, स्पष्ट हुन पाउँ सरकार !?’ सूरक्षाधिकारीको यस्तो प्रश्न सुनेर राजाले मुसुक्क हाँस्दै भनेका थिए- ‘तिमीले भनेको सही हो, तर टाढा कतै चारकोशे झाडीमा बन्दुक लिएर यो बाटो आयो भने मार्छु भन्ने मानिस ठूलो सत्रु हो कि नजिकै बसेर आफूले खाइरहेको भातको थाल खोस्न खोज्नेचाहिँ ठूलो सत्रु हो भन्ने कुराको हेक्का राख्न सक्नुपर्छ । काङ्ग्रेस नजिकै, वरिपरि बसेर खाइरहेको भातको थाल खोस्न खोज्दैछ भने पहिलो सामना त उसैसँग गर्नुपर्छ नि, होइन र ?’ राजा महेन्द्रको जवाफ सुनेपछि ती सूरक्षाधिकारी राजनीतिमा सत्रु पहिचान गर्ने र कस्तो प्रकारको सत्रुसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा स्पष्ट भएका थिए ।

राजा महेन्द्रलाई देशका निम्ति ठोस र अपरिहार्य काम गर्नका निम्ति सम्पूर्ण सत्ताको मालिक बन्नुपर्ने बाध्यता थियो । कुल दश वर्ष मात्र काम गर्ने अवसर पाएका राजा महेन्द्रले आफ्नो समयमा जति गरे, त्यसपछिका पाँच दशकभित्र त्यसको तुलनामा पाँच प्रतिशत काम भएको महसूस आमजनताले गरिरहेका छैनन् । राजनीतिक दल र तिनका नेताहरूले सर्वथा सत्ताकेन्द्रीत राजनीतिमा आफूलाई सीमित गर्दै आएका छन्, तर सत्तालाई राष्ट्रका निम्ति नभइ निजी हितका लागि उपयोग-उपभोग गर्ने कार्य दलका नेताहरूबाट भइरहेका छन् । सिद्धान्त र विचारबाट राजनीति बाहिरिएको महसूस त्यतिबेलै गरिएको हो, जब शेरबहादुर देउवाले सत्ता टिकाउनका निम्ति सांसद खरिदबिक्रीको थालनी गरे । २०५२/०५३ मा देउवाले प्राडो-पाजेरो, सुरा र सुन्दरी तथा नगदसमेतको प्रयोग गरेर सत्ता टिकाउन गरेको प्रयासले २०४६ सालमा स्थापित संसदीय प्रजातन्त्रको चरम बदनाम गरेको थियो । त्यसपछि २०५३ सालमा नेकपा एमालेले पञ्चनेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री थापेर सत्तामा प्रवेश गरेपछि नेपाली जनताले विचार र सिद्धान्तकेन्द्रीत राजनीतिको विघटन भएको महसूस गरेका थिए । त्यसलगत्तै २०५४ मा काङ्ग्रेसले पनि सूर्यबहादुर थापा नामक अर्का महापञ्चलाई प्रधानमन्त्री बनाउँदै कम्युनिष्ट भन्दा आफू कम नभएको सन्देश दियो । २०६३ सालमा काङ्ग्रेसले माओवादीमार्फत प्रविष्ट गराइएको जड्यौरी विचार भिरेपछि विचारहिनताको उत्कर्षतर्फ उन्मूख राजनीति यतिबेला चुनावमा समेत सत्रु कित्तालाई मतदान गर्ने ठाउँसम्म आइपुगेको छ ।

नेपाली राजनीतिमा कुनै समय भारतीय भूमिका र प्रभाव बलवान थियो भने पनि अब त्यस्तो स्थिति छैन । दुवैतर्फका छिमेकीहरू नेपालमा रक्षात्मक भूमिकामा छन् र, आक्रामक एवम् सुदृढ भूमिका पश्चिमा शक्तिले निर्वाह गरिरहेको छ । पाकिस्तानमा झैँ अदालत र सेनालाई साथ लिएर आफूअनुकुलको राजनीतिक स्थिति निर्माण गर्ने अभ्यास विगत केही दशकयता हुँदै आएको छ ।

विचार समूह (राजनीतिक दल)हरूले आ-आफ्ना विचार, दर्शन, सिद्धान्त, नीति र कार्यक्रम अघि सार्दै आफूहरू सही तथा अर्को पक्ष गलत भएको सन्देश निरन्तर दिइरहेका हुन्छन् । विचारकै आधारमा मानिस यो या अर्को पक्षमा सङ्गठित हुन्छन् र, कहिलेकाहीँ वैचारिक द्वन्द्व भौतिकद्वन्द्वमा रुपान्तरित हुँदा ठूल-ठूला क्षति ब्यहोर्नुपरेको अनेक दृष्टान्त पनि हाम्रासामु छन् । भिन्न विचार तथा बेग्लाबेग्लै पृष्ठभूमिका दलहरूले आफ्नो शक्ति, सामर्थ्य र जनविश्वासको परीक्षण गर्ने समयचाहिँ निर्वाचन नै हो । राजनीति र प्रजातन्त्रको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण घटनाका रूपमा चुनाव अर्थात् मतदानलाई लिइन्छ । आफूले अङ्गिकार गरेको विचार, सिद्धान्त, नीति र कार्यक्रम सही भएको प्रमाणिकरण गरी विधिवत प्रमाणपत्र प्राप्त गर्नुपर्ने दिनमै अर्को विचार समूह, जसलाई वर्षौंदेखि गलत संज्ञा दिने गरिएको थियो, उसैलाई मतदान गर्नुपर्ने भएपछि त्यस्तो पार्टीका कार्यकर्ता र मतदाताहरूको मनोदशा कस्तो हुँदो हो ? कैयन मानिसले आफ्नो पूरा जीवन निश्चित वैचारिक निष्ठा र विचार समूहप्रति समर्पण गरेका हुन्छन् । जब आफ्नो आस्था र विश्वासविपरीतको विचार समूहलाई मतदान गर्नुपर्छ भने राजनीतिकर्मीहरूले बेग्लाबेग्लै राजनीतिक दल गठन गरेर जनतालाई किन विभाजन गर्नु ? विचारका नाममा द्वन्द्व र तनाव बारम्बार किन पैदा गर्नु !? मतदान नेताले निर्दिष्ट गरेको पक्षलाई गर्नुपर्ने हो भने कोही-कसैले आफ्नो पूरा जीवन कुनै अमूक समूहका नाममा किन खर्च गर्नु ?

सिद्धान्तविहीन र सत्ताकेन्द्रीत राजनीतिमा निर्लिप्त मानिसमा देश र समाजप्रतिको चिन्ता कहिल्यै पनि हुने गर्दैन । यस्ता राजनीतिकर्मीले यदाकदा जनता र देशका पक्षमा कुरा गरेजस्तो गरेका छन् भने त्यो पतिवियोगमा परेकी महिलालाई भेट्नेहरूले ‘चिन्ता नगर, केही परिआएमा हामी छौँ’ भनी आश्वासन दिएजस्तो मात्र हो । राजनीतिकर्मीहरू विस्तारै राजनीतिजीवीमा रुपान्तरण हुँदै जान्छन् र, तिनको व्यवहार पूर्णतः आत्मकेन्द्रीत हुन पुग्छ । यस्ता राजनीतिजीवीहरूमा सत्ताप्राप्तिका निम्ति जोसँग जस्तोसुकै सम्झौता गर्ने प्रवृत्तिको विकास हुन्छ । त्यसरी सम्झौता गर्दै जाँदा उनीहरू कतिबेला ‘परायाको पपेट’ बनिसकेका हुन्छन्, त्यसको सामान्य हेक्कासमेत उनीहरूमा हुने गर्दैन ।

यो समयमा हामीलाई उपलब्ध राजनीतिकर्मीहरूमध्ये अधिकाङ्श अब कहिल्यै उम्कन नसकिने गरी पराया चङ्गुलमा परिसकेका छन्, त्यसैले स्वतन्त्र र विवेकसम्मत भूमिका निर्वाह गर्न सक्ने/पाउने मौका र क्षमता उनीहरूले गुमाइसकेका छन् । परायाशक्ति आफ्नो इच्छा र इसारामा नाच्ने पुतलीहरूलाई सत्तामा पुऱ्याएर काम पट्याउने गर्दछन्, गर्दै आएका छन् । सत्ताबाहिर आफ्नो भविष्य नदेख्ने, बिनासत्ताको जिन्दगी निरश, दुःखद र असफल ठान्ने मनोदशाले राजनीतिजीवीहरूलाई ‘मदारीको बाँदर भूमिका’मा पुऱ्याइसकेको हुन्छ, तर उनीहरूमा त्यस्तै भूमिकामा रमाउने आदत बसिसकेको हुन्छ, जस्तो नेपाली राजनीतिजीवीहरूको सोच र व्यवहारले देखाइरहेको छ ।

अन्य दलबाट गराउन नसकिने छुल्याहा तथा राष्ट्रद्रोही कर्मलाई पनि क्रान्तिकारिताको आवरणमा सम्पन्न गरिदिन सक्ने भएकोले पश्चिमा दृष्टिमा कम्युनिष्टको उपयोगिता रहेको हो । विभाजन, विघटन र बर्बादीका आधार तयार गर्ने वैधानिक कार्य सम्पन्न भइसकेको, बाँकी कार्ययोजनामा काङ्ग्रेसलगायत केही दलहरू पूर्ण रूपले सहयोगी बन्ने सम्भावना प्रबल भएको, एमसीसी प्रकरणमा कम्युनिष्टहरूले निकै सास्ती दिएको र, आगामी दिनहरूमा अर्को कुनै शक्तिराष्ट्रले कम्युनिष्टहरूलाई आफ्नाविरुद्ध प्रयोग गर्न सक्ने सम्भावना रहेको जस्ता कारणहरूले नेपालमा कम्युनिष्टहरूको उपादेयता सकिएको ठहर पश्चिमाहरूबाट भएको बुझिन्छ ।

नेपाली राजनीतिमा कुनै समय भारतीय भूमिका र प्रभाव बलवान थियो भने पनि अब त्यस्तो स्थिति छैन । दुवैतर्फका छिमेकीहरू नेपालमा रक्षात्मक भूमिकामा छन् र, आक्रामक एवम् सुदृढ भूमिका पश्चिमा शक्तिले निर्वाह गरिरहेको छ । पाकिस्तानमा झैँ अदालत र सेनालाई साथ लिएर आफूअनुकुलको राजनीतिक स्थिति निर्माण गर्ने अभ्यास विगत केही दशकयता हुँदै आएको छ । नेपाल यतिबेला पश्चिमी प्रकोपबाट ग्रस्त छ, कथित नागरिक समाजका नाममा प्रकट भएका विभिन्न आकारप्रकारका झुण्डहरू, एनजीओ आइएनजीओहरू, व्यापारिक प्रयोजनले व्यापारीहरूद्वारा सञ्चालित सञ्चारमाध्यमहरू, सर्वोच्च अदालतका अधिकाङ्श न्यायाधीशहरू, नेपाली सेनाका अधिकाङ्श उच्चाधिकारीहरू, काङ्ग्रेस, कम्युनिष्ट र अन्य विभिन्न नाममा खुलेका राजनीतिक दलहरू, कानून व्यवसायसम्वद्ध सङ्घ-सङ्गठन तथा कानून व्यवसायीहरू र मानवाधिकारकर्मीहरू अनेक प्रकारले पश्चिमी पकडमा छन् । पश्चिमाहरू नेपालमा कसैसँग दूरी बनाउँछन् भने त्यो राष्ट्रवादी र देशभक्तहरूसँग हो । उनीहरू नेपालमा भयभीत छन् भने चिनियाँ प्रभाव बढ्न सक्ने सम्भावनाप्रति छन् । चीनको सम्भावित प्रभावसँग डराए पनि पश्चिमाहरू नेपालमा कम्युनिष्टहरूसँग कहिल्यै डराएनन् । बरु नेपालमा आफ्ना इच्छा र योजना कार्यान्वयनमा कम्युनिष्टहरू तिनका पुतली बनेरै प्रयोग-उपयोग भएका हुन् । अन्य दलबाट गराउन नसकिने छुल्याहा तथा राष्ट्रद्रोही कर्मलाई पनि क्रान्तिकारिताको आवरणमा सम्पन्न गरिदिन सक्ने भएकोले पश्चिमा दृष्टिमा कम्युनिष्टको उपयोगिता रहेको हो । विभाजन, विघटन र बर्बादीका आधार तयार गर्ने वैधानिक कार्य सम्पन्न भइसकेको, बाँकी कार्ययोजनामा काङ्ग्रेसलगायत केही दलहरू पूर्ण रूपले सहयोगी बन्ने सम्भावना प्रबल भएको, एमसीसी प्रकरणमा कम्युनिष्टहरूले निकै सास्ती दिएको र, आगामी दिनहरूमा अर्को कुनै शक्तिराष्ट्रले कम्युनिष्टहरूलाई आफ्नाविरुद्ध प्रयोग गर्न सक्ने सम्भावना रहेको जस्ता कारणहरूले नेपालमा कम्युनिष्टहरूको उपादेयता सकिएको ठहर पश्चिमाहरूबाट भएको बुझिन्छ । त्यसैले आगामी दिनमा पश्चिमाहरूबाट पहिलेझैँ कम्युनिष्टलाई प्रवर्द्धन गरिने सम्भावना क्षीण भएको छ ।

पश्चिमाहरू अब नेपालबाट कम्युनिष्ट उन्मूलन गर्न चाहन्छन् भन्ने निष्कर्श निकालियो भने त्यो गलत हुनेछैन । त्यसैले एकथरी कम्युनिष्टलाई हात लिएर अर्काथरी कम्युनिष्टलाई समाप्त गर्ने र त्यसपछि बाँकी कम्युनिष्टलाई सजिलैसँग सखाप पार्ने रणनीतिक योजनामा पश्चिमाहरू छन् । राजनीतिक दलहरूमध्ये पश्चिमको सबैभन्दा वफादार भूमिकामा रहेको काङ्ग्रेस पार्टीसँग प्रचण्ड, बाबुराम र माधव नेपालको गठबन्धनलाई सामान्य रूपमा बुझ्नु उपयुक्त हुनेछैन । यिनलाई प्रयोग गरेर एमालेलाई दुर्बल तुल्याउने सफलता प्राप्त गर्नु पश्चिमा शक्ति र काङ्ग्रेस दुवैको योजना र सपना हो । त्यसैले विपरीत विचारका भनिने यी घटकहरूबीचको गठबन्धन अस्वभाविक किसिमले मजबूत तुल्याइँदै छ । एमाले कमजोर भइसकेपछि बाँकी कम्युनिष्टहरू पनि लोपमार्गमा पुग्नेछन्, त्यसैले प्रारम्भिक प्रयास यतिबेला भइरहेका हुन् ।

२०५२/०५३ मा देउवाले प्राडो-पाजेरो, सुरा र सुन्दरी तथा नगदसमेतको प्रयोग गरेर सत्ता टिकाउन गरेको प्रयासले २०४६ सालमा स्थापित संसदीय प्रजातन्त्रको चरम बदनाम गरेको थियो । त्यसपछि २०५३ सालमा नेकपा एमालेले पञ्चनेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री थापेर सत्तामा प्रवेश गरेपछि नेपाली जनताले विचार र सिद्धान्तकेन्द्रीत राजनीतिको विघटन भएको महसूस गरेका थिए । त्यसलगत्तै २०५४ मा काङ्ग्रेसले पनि सूर्यबहादुर थापा नामक अर्का महापञ्चलाई प्रधानमन्त्री बनाउँदै कम्युनिष्ट भन्दा आफू कम नभएको सन्देश दियो ।

कम्युनिष्ट बलियो भएको ठाउँमा शान्ति, स्थिरता, विकास, खुशी र समृद्धिको कल्पना गर्न सकिन्न । चीनले उदार अर्थनीति अवलम्बन गरेपछि प्राप्त गरेको उपलब्धिलाई कम्युनिष्ट अवधारणाको प्रतिफल मान्न सकिँदैन, होइन । वास्तवमा कम्युनिष्टसँग प्रजातन्त्र, शान्ति, एकता, स्थिरता र समृद्धिको मित्रता कदापि हुन सक्दैन । त्यसैले प्रजातन्त्र, राष्ट्रियता र राष्ट्रिय एकतासहितको समृद्धिका निम्ति कम्युनिष्ट पन्थको उन्मूलन अपरिहार्य मानिन्छ, राष्ट्रिय दृष्टिले अत्यन्त महत्वपूर्ण यस्तो कार्ययोजना सही भए पनि यो पश्चिमाबाट नभइ नेपाली जनता आफैंबाट हुनुपर्ने कार्य हो ।

वर्तमान संविधान निर्माणका क्रममा इञ्जिनियरको नभइ ज्यामी भूमिका निर्वाह गरेका सबै राजनीतिक दलहरू अहिले बहुदलीयताभित्र निर्दलीयताको अभ्यास गर्दैछन् । समूह बेग्लै भए पनि लक्ष्य (सत्ताप्राप्ति) एउटै भएकोले दलहरू जुनकुनै पक्षसँग गठबन्धन बनाउन तयार भएका हुन्, यस्ता सोच-व्यवहारले बहुदलीय व्यवस्थाभित्र निर्दलीय अभ्यासलाई प्रोत्साहित गरेको छ । पञ्चायत निर्दलीय राजनीतिक प्रणाली थियो, तर त्यो वयवस्थाभित्र दलीय अभ्यास हुने गर्थे । तुल्सी गिरी, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द आदिका नाममा सृष्टि भएका पञ्च-समूहहरूको आपसी प्रतिद्वन्द्विताले अन्ततः निर्दलीय पञ्चायतको अन्त्यमा ठूलो सहयोग पुऱ्याएको थियो । अहिले बहुदलीय व्यवस्थाभित्र भइरहेका अस्वस्थ एवम् अस्वाभाविक गठबन्धनले नेपालमा बहुदलीय प्रकृतिको प्रजातन्त्र औचित्यहीन सिद्ध गर्न खोज्दैछ । यस्तै अस्वाभाविक र अस्वस्थ क्रियाकलापले निरन्तरता पाइरहेपछि राजनीतिमा सेना र अदालतको भूमिका हाबी हुने हो । पश्चिमाहरू आफ्नो रणनीतिक योजनामा यसरी नै सफल हुँदै गइरहेका छन्, नेपाल पूर्णरूपले उनीहरूको काबुमा नपुगेसम्म यहाँ अस्थिरता, अराजकता र अस्वभाविकताको खहरे उर्लिइरहने छन्, नेपाली जनता यसरी नै पर्यवेक्षकको भूमिकामा सीमित रहेसम्म खहरेको खतरा कायम रहनेछ, … जय मातृभूमि ! घटना रविचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.