अवैध उत्खनन्को बिरोध गर्दा एक युवकलाई टिपरले किचेर मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रिपोर्ट नेपाल | 2020 Jan 10 | 11:47 am 190

धनुषा, पुस २५ः अवैध गिट्टी–बालुवा उत्खनन्‌को विरोध गर्ने क्रममा शुक्रबार टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिथिला नगरपालिका ५ का २४ वर्षीय दिलीपकुमार महतो रहेका छन् । उनको मटनास्थलमै मृत्यु भएको हो ।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको औरही खोलाको बगरमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको स्थानीयले बताएका छन् ।

स्थानीयबासीका अनुसार बिहान ४ बजे नदीजन्य पदार्थ लिन गएको ना ७ ख ६४१३ नम्बरको टिपरलाई उनले बाटोमै रोकेका थिए । चालकसँग भनाभन भएपछि टिपरले किचेरै उनको हत्या गरिएको हो ।

टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

युवको हत्या विरोधमा स्थानीय आन्दोलित भएका छन् । उनीहरूले टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । दोषीलाइ कारबाहीको माग गर्दै स्थानीयले चर्को प्रदर्शन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.