अन्ततः आज नहुने भयो मन्त्रिमण्डल पुनर्गठन

रिपोर्ट नेपाल | 2019 Nov 20 | 05:38 pm 59

काठमाडौं, मंसिर ४ : प्रधामन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनका लागि जुटे पनि अन्ततः आज (बुधबार) मन्त्रिमण्डल पुनगर्ठन नहुने भएको छ ।

दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति जुटाएको थियो । नेकपा सचिवालयको वैठकले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने भनिए पनि समय अभावका कारण आज मन्त्रिमण्डल विस्तार हुन नसकेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ होटल याक एण्ड यतीमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न जानु परेका कारण बुधबार मन्त्रिपरिषद पनर्गठन नहुने भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको व्यस्तताका कारण आज मन्त्रिपरिषद पनर्गठन नहुने अध्यक्ष प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले जानकारी दिएकी छन् । ‘दुबै अध्यक्ष एक कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले आज मन्त्रिपरिषद पुनर्गठन नहुने भएको छ’, उनले भनिन्, ‘दुबै दुबै अध्यक्ष बालुवाटारबाट निस्किसकनु भयो ।’

यता बालुबाटार स्रोतले पनि बुधबार मन्त्रिपरिषको पुनर्गठनको सम्भावना कम रहेको जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री ओली एक कार्यक्रममा सहभागी हुने भएका कारण आज पुनर्गठनको सम्भावना कम भएको जानकारी दिए । ‘प्रधानमन्त्री ज्यू अहिले श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न होटल याक एन्ड यती जाँदै हुनुहुन्छ । आज मन्त्रिमण्डल पुनगर्ठन नहुने सम्भावना छ’, थापाले भने ।

बुधबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्री हेरफेरमा छलफल भएको थियो । त्यसलगत्तै दुई अध्यक्ष थप छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए ।

दुई अध्यक्षको राष्ट्रपतिसँगको छलफलपछि बुधबार दिउँसो बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठक बसेको थियो । बैठकले दुवै अध्यक्षको कार्यविभाजन गर्दै सरकारको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.