अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति अपेक्षाकृत हुन सकेन, परिणाममुखी बनाउन मन्त्रिपरिषद् कार्यालयको निर्देशन

| 2020 Jan 12 | 09:03 am 56

काठमाडौं, पुस २७ः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयलाई ताकेता गर्दै दोस्रो चौमासिक कार्यप्रगति विवरणलाई परिणाममुखी बनाउन निर्देशन दिएको छ ।

साथै, प्रधानमन्त्री कार्यालयले दोस्रो चौमासिक कार्यप्रगतिको प्रारम्भिक समीक्षासमेत थालेको छ । अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति विवरणसमेत अपेक्षाकृत हुन नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

चालू आर्थिक वर्ष २०७६र७७ को पहिलो चौमासिक प्रगति विवरणमा अधिकांश मन्त्रालयको नतिजा राम्रो नआएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयलाई दोस्रो चौमासिकमा भने नतिजा राम्रो ल्याउन ताकेता थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ मंसिरमा मन्त्री तथा सचिवलाई निर्देशन दिँदै दोस्रो चौमासिकमा राम्रो नतिजा प्राप्त गर्न सोहीअनुसार रणनीति बनाएर अगाडि बढ्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले त्यस्तो आग्रह गरे पनि अधिकांश मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वले आफ्नो मन्त्रालयको कामलाई दु्रत गतिमा अगाडि बढाउन नसकेको पाइएको छ ।

प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयको कार्य जिम्मेवारीअनुसार प्रभावकारी रूपमा कार्य गरे नगरेको बारेमा नियमित रूपमा नै अनलाइन मनिटरिङ गर्ने कार्यलाई जारी राख्दै आइरहेको छ । प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार मन्त्रालयमा धेरै मन्त्री जागिरेजस्तै बन्दा कामको परिणाम निस्कन नसकेको हो ।

राम्रो प्रगति ल्याउन ताकेता गर्दै प्रधानमन्त्री कार्यालय

परिणाम निकाल्न मन्त्रीहरू अहोरात्र खटिनुपर्छ, उनीहरूले जागिरे मनस्थिति त्यागेर काममा खट्नुपर्छ र कर्मचारीलाई पनि सोहीअनुसार खटाउन सक्नुपर्छ, ती अधिकारीले भने । धेरै सचिव कामचोर देखिँदा पनि समस्या आएको ती अधिकारीले बताए । मन्त्री र सचिवलाई अव नियमित अनुगमन गर्न जरुरी रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति विवरणबारे समीक्षा थालिएको बताए ।

मुख्य सचिवले आवश्यकता अनुसार सचिवलाई बोलाएर मन्त्रालयको कार्यप्रगति सन्तोषजनक बनाउन निर्देशन दिने गरेको प्रवक्ता भुसालले बताए । मुख्य सचिवज्यूले आवश्यकताअनुसार सचिव बैठक राखेर मन्त्रालयको कार्यप्रगतिलाई राम्रो बनाउन निर्देशन दिन थाल्नुभएको छ, प्रवक्ता भुसालले भने । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.