अज्ञात समुहद्वारा मेयरको गाडीमा आगजनी

| 2019 May 15 | 11:44 am 77

अछाम, जेठ १: जिल्लाको मङ्गलसैन नगरपालिकाका मेयरको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार राति २ः१५ बजे नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

उक्त घटना रातिको समयमा भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली पुगेर आगो नियन्त्रणमा लिइएको प्रहरीले बताए । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको जनाए ।

गाडीमा आगजनी भएको प्रहरीलाई मङ्गलसैन बजारका स्थानीयवासीले जानकारी गराएका थिए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

उक्त गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताए । पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उनले बताए । गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.