अस्पताल निर्माणका लागि व्यक्तिगत तीन करोड सहयोग

| 2019 Apr 23 | 12:29 pm 16

चितवन, वैशाख १० : सम्पत्ति आर्जन गर्नका लागि मान्छेले राज्यको सम्पत्ति हडपेको चर्चा चलिरहेकै बेल भरतपुर महानगरपालिकाका ९१ वर्षीय उदयकुमार पियाले ३ करोड नगद रुपैयाँ एक अस्पताल निर्माणका लागि हस्तान्तरण गरेका छन् ।

पैसा भनेपछि महादेवको पनि त्रिनेत्र बल्छन् भन्ने यो समाजमा थोरै रकमका लागि ज्यान लिने दिने काम पनि भइरहेका छन् । तर यस्तो समाजमा भरतपुर महानगरपालिकाका पियाले नगरवन क्षेत्र नारायणगढमा निर्माण हुन लागेको स्पाइनल इन्ज्योरी अस्पताल तथा पुनस्थापना केन्द्रका लागि रकम सहयोग गरेका हुन् ।

उनले आफ्नी धर्मपत्नी चमेलीदेवी पियाको नाममा अस्पताल निर्माण गर्न सहयोग गरेका हुन् । चमेलीको सम्झनामा अस्पतालाई सहयोग गरेको उदयको भनाइ छ । ‘स्पाइनल इन्ज्योरी भएका बिरामीलाई हिँड्डुल गर्न निकै कठिन हुन्छ ।

उनीहरूको उपचार र पुनस्थापना गरिने भएकाले सहयोग गरेको हुँ,’ उनले भने । चमेलीको १८ वर्षअघि मृत्यु भएको थियो । तनहुँको बन्दीपुरमा जन्मिएका पिया २००५ देखि चितवनमा व्यापार गर्दै आएका हुन् ।

व्यवसायबाट जोगाएको पैसा सहयोग गरेको उनले बताए । उदयले गरेको सहयोगप्रति परिवारजन पनि खुसी छन् । उनका जेठा छोरा डा मदनकुमार पिया सामाजिक कार्यका लागि बुबाले गरेको सहयोगले खुशी तुल्याएको बताए ।

काठमाडौंपछि मोफसलमा पहिलोपटक केन्द्र बन्न लागेको परियोजनाका संयोजक उत्तमलाल चुकेले बताए । एक बिघा क्षेत्रफलमा १३ हजार वर्गफिटको भवन निर्माण हुने भएको छ । २५ शैंयाको उक्तकेन्द्र निर्माण गर्न ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने केन्द्रका लागि भरतपुर महानगरले जग्गा उपब्ध गराएको छ । भवनको सोमबार शिलान्यास गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.